ललितपुरका भरत महर्जन तथा उनको परिवारले डुबाएको सुमेरु बचत तथा सहकारी संस्था उकास्न राजबहादुर सिंहले अग्रसरता लिएका छन् । पूर्वराजा ज्ञानेन्द्र शाहका ज्वाइँ सिंहले सुमेरु सहकारीका बचतकर्ताको डुबेको साढे सात अर्ब निक्षेप फिर्ता गराउन सिंहले अग्रसरता लिएका हुन् ।
सहकारीको रकम अपचलनपछि महर्जन तथा उनको परिवारै बेलायत पलायन भएका बखत सिंहले उक्त सहकारीसहित बढे बढाइएको सम्पत्तिको स्वामित्व आफैं लिने गरी निक्षेप फिर्ताको पहल गरिरहेका छन् ।
भरतको पुल्चोकस्थित सुमेरु सहकारी र उनका छोरा सचिन महर्जनले सञ्चालन गरेको कालिमाटीस्थित सुमेरु सहकारीका बचतकर्ताको निक्षेप फिर्ताको प्रस्तावसहित कानुन व्यवसायी बलराम सुवेदी कानुनी परामर्शमा छन् । सुवेदी महर्जन परिवारनिकट कानुन व्यवसायी हुन्। उनले सहकारी ठगीको मुद्दा ब्युरोमा पुगेपछि कानुन व्यवसायीको रुपमा काम गरिरहेका छन् । दुबै सहकारीको निक्षेप अपचलनबारे नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले अनुसन्धान गरिरहेको छ।
उक्त निक्षेप कानुनी परिबन्ध मिलाएर फिर्ताको प्रस्तावसहित सुवेदी बिहीबार केन्द्रीय अनुसन्धान ब्युरोमा पुगेका थिए । त्यसक्रममा ब्युरोका अधिकृतसँग उनले छलफल गरेका थिए। बचतकर्ताको निक्षेप फिर्ता भए मुद्दामा मिलापत्र हुने कानुनी व्यवस्थाअनुसार उनले ब्युरोका अधिकृतसँग छलफल गरेको बुझिएको छ।
सुवेदी आफैंले बचतकर्ताको रकम फिर्ता गर्नेबारे छलफल चलिरहेको बताए। ‘दुबै सहकारीको समस्याबारे प्रहरीले अनुसन्धान गरिरहेको छ, बचत फिर्ताको विषयमा छलफल चलिरहेको हो,’ उनले भने, ‘अहिलेसम्म म कानुन व्यवसायीका नाताले मुद्दा हेर्नेबाहेक आधिकारिक व्यक्ति होइन, तर पहल भइरहेको छ।’
सिंहले बचतकर्ताको साढे सात अर्ब रुपैयाँ फिर्ता गर्ने सर्त राखेर दुबै सहकारीको स्वामित्व लिने तयारीबारे उनले ‘छलफलको क्रममा रहेको’ बताए। निक्षेप फिर्ता भएको खण्डमा महर्जन परिवार कानुनी परिबन्धबाट मुक्त हुनेछन् भने अर्कोतर्फ सुमेरु सहकारीबाट बढे-बढाइएको सम्पत्तिको स्वामित्व सिंहले हात पार्नेछन्। ब्युरोका अधिकृतहरूका अनुसार पुल्चोकको सहकारीको मात्रै साढे सात अर्ब अपचलनको जाहेरी ब्युरोमा परेको छ। सो सहकारीका कोही पनि पक्राउ परेका छैनन्।